काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरूद्धको खोप प्राप्तिका लागि सरकारले पहल गरिराखेको बताएका छन्।

रूस, भारत र युएईका राजदूतसँग खोप आपूर्ति लगायतबारे कुराकानी गरिएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले छिट्टै खोप ल्याइने जानकारी दिए।

‘खोप अभियानका रूपमा सञ्चालन गर्ने तयारी छ। प्राप्तिदेखि लगाउनेसम्म अभियान सञ्चालन गर्ने हो,’ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘छिमेकी देशहरूमा खोप आइसक्यो हामीले कहिले पाउने भन्ने चिन्ता देखिएको छ। समाचारहरू पनि आएका छन्। हामी छिट्टै खोप ल्याउँछौं, त्रिपाठीले भने।

उनले अन्य चिजजस्तो खोप ल्याउन सहज भने नरहेको बताए। खोप ल्याएपछि भण्डारण र खोप लगाउने जनशक्तिलगायत आन्तरिक व्यवस्थापनको काम अब धेरै बाँकी नरहेको पनि बताएका छन्। खोप प्राप्तिका लागि हरेक सम्भावनालाई सरकारले अगाडि बढाइरहेको उनको भनाइ थियो।

उनले खोप ल्याएपछि पहिले स्वास्थ्यकर्मीलाई लगाइने र त्यसपछि ५५ वर्षमाथिका रोगबाट पीडितलाई लगाइने जानकारी दिए। देशभर रहेका १६ हजार खोप केन्द्र व्यवस्थापन र परिचालन गरिने उनले बताएका छन्।

सम्बन्धित खबरहरु