काठमाडौँ, वैशाख २२ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो।
ओमानका लागि विनायक शुक्लाले ३६, हम्माद मिर्जाले ३४ तथा हस्नैन उल वहाबले २९ रन बनाए पनि टोलीलाई जिततर्फ लैजान सकेनन्। नेपालका गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए भने सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान एक-एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा २५६ रन बनाएको थियो। आसिफ शेखले ९४ रनको उत्कृष्ट इनिङ्स खेले भने अर्जुन कुमालले ४८ र दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे। अन्त्यतिर आरिफ शेखले २४ बलमा ४३ रन बनाउँदै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याए।
जितसँगै नेपाल २४ खेलबाट १८ अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ। अब नेपालले वैशाख २९ देखि जेठ ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग घरेलु मैदानमै अर्को सिरिज खेल्नेछ।
तस्बिर स्रोत :क्यान