काठमाडौं, असार १८ । आईएडब्लुआरटी (इन्टरनेशनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन) नेपाल च्याप्टरले सातौँ महिला लघु चलचित्र प्रतियोगिता २०२६ का लागि आवेदन आह्वान गरेको छ।
प्रतियोगितामार्फत नेपालभरका महिला फिल्मकर्मीलाई आफ्ना सिर्जनात्मक कथा, दृष्टिकोण र अनुभवलाई लघु चलचित्रमार्फत प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य महिला सिर्जनशीलता, अभिव्यक्ति र कथावाचनलाई प्रोत्साहन गर्नुका साथै चलचित्रका माध्यमबाट महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्नु हो।
प्रतियोगितामा कथानक (फिक्सन), गैरकथानक (ननफिक्सन) र एनिमेसन गरी तीन विधाका लघु चलचित्र सहभागी गराउन सकिनेछ। सहभागी गराइने चलचित्रको अवधि १५ मिनेट वा सोभन्दा कम हुनुपर्नेछ। साथै, चलचित्र महिला फिल्मकर्मीले लेखेको र निर्देशन गरेको हुनुपर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि आवेदन तथा चलचित्र बुझाउने अन्तिम मिति १५ सेप्टेम्बर २०२६ तोकिएको छ। आईएडब्लुआरटी नेपाल च्याप्टरले देशभरका महिला फिल्मकर्मीलाई प्रतियोगितामा सहभागी भई आफ्ना सिर्जनात्मक कृति प्रस्तुत गर्न आग्रह गरेको छ।