–इच्छा गुरुङ

फुलपातीको साँझ, काठमाडौंलाई दशैंले छपक्कै छोपिरहेको बेला, अन्नपूर्ण न्युरो अस्पतालको ५१० नम्बर बेडको झ्यालबाट बाहिर नियाल्दै छिन् संगीता । दिपेन्द्र बेडमा पल्टिरहेका छन्। छेउको सानो बेञ्चमा साढे तीन वर्षे छोरा निदाएको छ।

“आज बन्द हो र दिदी, गाडी केही चलेको छैन त?“ संगीताले सोधिन्।
“हैन नि, दशैं सुरु भइसक्यो। आज फुलपाती । दशैंमा त काठमाडौंमा फाटफुट मात्र गाडी चल्छ,“ मैले भनें।

त्यतिकैमा दिपेन्द्र चलमलाउँदै संगीतालाई बोलाए। सुस्तरी खुट्टा–हात मिचिदेऊ भने । संगीताले दिपेन्द्रका हातखुट्टा मिच्दै भनिन्,
“सुत्दा–सुत्दा जिउ करकर दुख्छ भन्नुहुन्छ । निदाउने औषधि नदिने हो भने त रातभरि सुत्न सक्नुहुन्न।”

केही दिन अगाडि घटेको घटना सम्झिँदै संगीताले थपिन्,
“म यही नजिकै हुन्छु, तर पनि नदेखेझैँ चर्को स्वरमा बोल्नुहुन्छ ।”

संगीताले यसो भनिरहँदा मलाई केहीबेर अघि लिफ्टमा आउँदा अस्पतालका कर्मचारीहरूले गरेको कुरा सम्झना आयो, गोली लागेर बेहोस दिपेन्द्र अपरेसन पछी आइसियुमा ‘संगीता ’ भन्दै बर्बराउँथे । मलाई लाग्यो अहिले पनि दिपेन्द्रलाई भदौ २३ को घटनाले गहिरो मनोवैज्ञानिक असर पारेको छ । त्यसैले उनी बारम्बार आफ्नी श्रीमतीलाई खोजिरहन्छन्।

मैले दिपेन्द्रको स्वास्थ्य अवस्था संगीता सँग सोधें।
दिपेन्द्रको देब्रे खुट्टा र हात राम्रोसँग चल्दैन। टाउकोमा गोली लाग्दा उनको दाहिने आँखामा गम्भीर असर परेको रहेछ । अपरेसन गरेर गोली त निकालिएको हो, तर सानो टुक्रा अझै आँखा नजिकै रहेकाले उनलाई दाहिने आँखाले पीडा दिन्छ । त्यसैले उनी त्यो आँखा राम्रोसँग खोल्न सक्दैनन् ।

अन्नपूर्ण न्युरो अस्पतालका न्युरो सर्जन प्रितम गुरुङका अनुसार, अपरेसनको क्रममा टाउकोको एक भागको हड्डी निकालेर पेटमा राखिएको छ । दुई महिनापछि त्यो हड्डी पुनः टाउकोमा जडान गरिनेछ ।

संगीताले जानकारी दिइन् अस्पतालले अब फिजियोथेरापीका लागि अन्य अस्पतालमा लैजान सुझाव दिएको छ । तर उनी अन्योलमा छिन् कता लैजाने? कसरी लैजाने? उनले भनिन्, “दशैंसम्म यही बस्छु भनेको छु, त्यसपछि केही व्यवस्था हुन्छ कि भन्ने आशा छ।”

मैले सोधें, “सरकारले जेनजी घाइतेहरूलाई परिचयपत्र दिने, फलोअप उपचारका लागि छुट्टै व्यवस्था गर्ने निर्णय गरेको थाहा छ “केही थाहा छैन । कता गएर परिचयपत्र पाइन्छ र?” उनले प्रतिप्रश्न गरिन्।

प्रधानमन्त्री  सुसिला कार्की, शिक्षामन्त्री महावीर पुन लगायत केही व्यक्तिहरू अस्पताल पुगे घाइतेहरू भेट्न। तर दिपेन्द्रलाई भने अहिलेसम्म दुई जना मानव अधिकारकर्मी बाहेक अरू कोही स्वास्थ्य जानकारी लिन आएका छैनन्, संगीताले दुःखेसो पोखिन्।

छेउमा सुतिरहेको छोरा उठ्यो र रुन खोज्यो । दिपेन्द्रले छेउमै छोरालाई सुताइदेऊ भने।
“घाउतिर छोइन्छ, बाबालाई दुख्छ” भन्दै संगीता छोरालाई बोकेर फकाउन थालिन् ।

मैले यसो बाहिर हेरें, बाटो पारी भाद्र २४ गते जलेको सर्वोच्च अदालतको खण्डहर देखें । त्यो दिन, जेनजी आन्दोलनको पहिलो दिन—भदौ २३ गते, संसद भवन अगाडि प्रहरीको गोली लागेर टाउकोमा गम्भीर घाइते भएका दिपेन्द्रको तस्बिर आँखाअघि नाच्न थाल्यो । सेक्युरिटी बारमा रगताम्य झुण्डिएको दिपेन्द्रको त्यो विभत्स दृश्य सम्झिए अनी अहिले शैया नम्बर ५१० मा सुतिरहेका दिपेन्द्रलाई नियाले । मनमा प्रश्न उठ्यो के राज्यले यि घाइते जेनजीलाई उपेक्षा गरिरहेको छैन?

म दोस्रोपटक दिपेन्द्रलाई भेट्न अस्पताल पुगेकी थिएँ। करुणाले मन भरियो, म उनको नजिक गएँ र बिस्तारै बोलाएँ,
“भाइ, मलाई चिन्यौ त?”
दिपेन्द्रले दुइ हात जोडेर टाउको हल्लाउँदै मुस्कुराए, “चिनेँ”।

सम्बन्धित खबरहरु