काठमाडौँ । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको रिटमा यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ। आदेश खारेज भएसँगै चलचित्र ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको छ।

न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले दुवै पक्षको बहसपछि अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो।

यसअघि न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए। सो आदेशपछि फिल्मको प्रदर्शन अस्थायी रूपमा रोकिएको थियो। वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै अदालतमा रिट दायर गरेकी थिइन्।

निर्देशक यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो। षट्कोण आर्टस्‌को ब्यानरमा निर्माण भएको उक्त चलचित्र वादी समुदायका महिलाले भोग्ने संघर्ष र सामाजिक यथार्थमा आधारित रहेको निर्माण पक्षको दाबी छ।

फिल्मको ‘प्रिमियर सो’ हुने तयारी भइरहेका बेला अदालतले यसअघि कुनै पनि समुदायको मान-मर्यादा, इज्जत, प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने तथा द्वेष वा साम्प्रदायिक दुर्भावना फैलाउने सामग्री संविधान विपरीत हुने उल्लेख गर्दै अल्पकालीन आदेश दिएको थियो।

अदालतबाट अन्तरिम आदेश खारेज भएपछि निर्माण पक्षले चलचित्र ‘लालीबजार’ अब वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने जनाएको छ।

सम्बन्धित खबरहरु