काठमाडौं । चलचित्र निर्माता संघले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएलगत्तै बन्द रहेका अधिकांश क्षेत्र अहिले खुलेपनि चलचित्र क्षेत्र भने खुल्न सकेको छैन। जसका कारण चलचित्र छायांकन समेत प्रभावित भएको छ । चलचित्र क्षेत्र बन्द रहँदा हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै चलचित्र निर्माता संघले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।
संघका अध्यक्ष आकाश अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेट्न नसकेपनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटेको तर अहिलेसम्म कुनैपनि फाइदा लिन नसकेको बताउनुभयो । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको संघले जनाएको छ ।
अधिकारीले चलचित्र क्षेत्रले मनोरञ्जन मात्रै नभएर कला, संस्कृति, भेषभूषा र पर्यटनलाई समेत समेटेको भन्दै तत्काल खोल्न माग गर्नुभएको हो । चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोड्न अध्यक्ष अधिकारीले उद्योग वाणिज्य महासंघको ५४ औं आशन्न साधारणसभामा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी समेत दिनुभएको छ । सो पदमा रहेर चलचित्र क्षेत्रको नीति नियम, ऐन कानून निर्माणमा सरकारलाई सहयोग गर्ने उहाँको प्रतिबद्दता छ ।