काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ भर्ना प्रक्रिया असार १ गतेदेखि अनिवार्य लागू हुने गरी छलफल भएको जानकारी दिए । ‘शैक्षिक असार १ देखि हुने भएकाले नयाँ भर्ना पनि त्यही दिनदेखि सुरु हुन्छ,’ उनले भने ।

छलफलमा मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् । उनले तत्काल देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका हुन् । सबै निकायलाई बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गरी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने गरी लाग्न सुझाव दिए ।

सम्बन्धित खबरहरु