काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापतिमा फेरि दोहोरिने बताएका छन् ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका हुन् । देउवाले शनिबार बिहान प्रदेश नम्बर १ का केन्द्रीय सदस्यहरुसँग बूढानिलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताएका हुन् ।

“संसोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएपनि सिट कम जित्यौँ,अब म मेरो नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरबारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।” साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको एक केन्द्रीय नेताले बताए ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्र बहादुर कार्की, मीना विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा.डिला संग्रौला, सुजता परियारलगायत सहभागी थिए ।

सम्बन्धित खबरहरु