पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण र केही प्रदेशमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनको बैठक बसिरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकमा देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका नेता माधव नेपाल सहभागी छन्। त्यस्तै भीम रावल पनि सो छलफलमा सहभागी छन् ।
बैठकमा पछिल्लो राजनीतिको विश्लेषण गर्दै गण्डकी र लुम्बिनी प्रदेशमा कसरी अघि बढ्ने निर्णय गर्ने तयारी छ। गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले विश्वासको मत लिए पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्।
सरकार गठनका विषयमा गठबन्धनमै कुरा नमिलेपछि त्यसबारेमा केन्द्रबाटै एउटा निर्णय गरेर पठाउने एक नेताले जानकारी दिए। यस्तै लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले प्रदेश सभा बैठक बहिस्कार गरेका छन्। सो प्रदेशमा के कस्ता रणनीति लिएर जाने बैठकले निर्णय गरेर सोही आधारमा प्रदेशका नेताहरुलाई जानकारी गराउने तयारी छ।