काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपतिले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । शनिवार पत्रकारसँग अन्तरक्रियामा बोल्दै देउवाले राष्ट्रपतिको चर्को आलोचना गर्दै पदीय मर्यादा समेत नराखी ओलीको कार्यकर्ता बनेको आरोप लगाएका हुन् ।

ओली लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी हुन् भन्दै आफूलाई बेकारमा अ‍ोलीसँग मिलेको आरोप लगाइएको देउवाको भनाई छ । देउवाले भने- ‘राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन, अहिले धमाधम शपथ खुवाउनुभयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । ओलीले भन्दा राष्ट्रपतिले गलत गरेको हो ।’

आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्ने देउवाले तर्क गरेका छन् । ‘अदालतले प्रधानमन्त्री बनाओस भनेको होइन, तर संविधानको व्याख्या त अदालतले गरिदिनुपर्यो नि । राष्ट्रपतिले आव्हान गर्नुभो, हामीले बहुमत सहित दावी गर्यौ । राष्ट्रपतिलाइ समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो।’, उनले भने ।

सम्बन्धित खबरहरु