नेकपा एमालेको आज (आइतबार) स्थायी कमिटी बैठक बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ९ बजे बस्ने भएको हो।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ। असन्तुष्ट वरिष्ठ नेता माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन माग गर्दै सर्वाेच्च अदालतमा दिइएको रिट निवेदनमा आफूनिकट सांसदले गरेको हस्ताक्षर फिर्ता नगर्ने बताएको भोलिपल्ट एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो।
यस्तै सर्वाेच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन बदर गरेको, प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी अमान्य भनेको, कर्णालीमा फ्लोर क्रस गरेका कारण बर्खास्त प्रदेश सांसदलाई पुनर्बहाली गरेको अवस्थामा बस्न लागेको एमालेको स्थायी कमिटी बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था गरेकाले त्यसको गृहकार्य भइरहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताए । विधानको धारा १३ मा एक राष्ट्रिय महाधिवेशनदखि अर्को महाधिवेशनका बीचमा विधान महाधिवेशन गरिने उल्लेख छ ।
विधान महाधिवेशन वर्तमान राजनीतिक घटनाक्रमलाई हेरेर एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी एमालेको छ । माधव नेपाल पक्ष एमालेमा रहने वा नरहने कुराले पनि त्यसको मितिमा तलमाथि हुने स्रोतले जनाएको छ ।
पछिल्लो समय एमालेको शीर्ष नेतृत्व विधान महाधिवेशनको गृहकार्यमा छ । त्यसका लागि गर्नुपर्ने पूर्व तयारी र संगठनात्मक योजनाको समेत गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ । महासचिव ईश्वर पोखरेलसहितको टिमले विधान महाधिवेशनको लागि आवश्यक पूर्व तयारीको काम गरिरहेको छ ।
एमालेको दशौं महाधिवेशन मंसिरमा तोकिएको छ । तर मंसिरमा प्रतिनिधिसभाको चुनाव भएकाले त्यसअघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको संगठन विभागका सदस्य समेत रहेका एमाले नेता भानुभक्त ढकालले बताए ।
चुनावका कारण महाधिवेशन सरे पनि विधान महाधिवेशन भने केही समयमै सम्पन्न गर्न सकिने ढकालको भनाइ छ । एमाले स्रोतका अनुसार माधव पक्ष एमालेमा रहने वा नरहने अवस्था हेरेर दशौं राष्ट्रिय महाधिवेश पनि मंसिर अघि नै गर्ने विषयमा समेत छलफल चलिरहेको छ ।