नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताए ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।
आयोजक कमिटीको बैठक काठमाडौमा बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।