काठमाडौं । नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान करीब १० बजे थापाको निधन भएको हो । कोरोना संक्रमणपश्चात् लगभग एक महिनादेखि थापा अस्पतालमा उपचाररत थिए । झन्डै डेढ हप्ताअघि कोरोनामुक्त भएपनि छातीमा समस्या देखिएपछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
विक्रम् सम्वत् १९९३ माघ २७ गते सप्तरीको बरमझियामा जन्मेका थापाले २०१३ सालबाट नै रेडियो नेपालबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । थापाले २०१८ सालमा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए भने २०२१ सालमा उनले कथासंग्रह ‘पलाँसको फूल’ सार्वजनिक गरेका थिए ।
थापाले सञ्चय कोष, कृषि चुन उद्योग जस्ता निकायमा रहेर तीन दशकभन्दा लामो सरकारी सेवा गरेका थिए भने ५० को दशकमा जागिर जीवनपश्चात पुनः सांगीतिक क्षेत्रमा सक्रिय भएका थिए । सोही क्रममा उनले ‘४० वर्ष अघि र ४० वर्ष पछि’, ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’, ‘म मक्किएको धुरी खाँबो’ जस्ता गीतिसंग्रह सार्वजनिक गरेका थिए । संगीतलाई जीवनको अपरिहार्य तत्वका रुपमा लिएका थापाले ६४ वर्षका उमेरमा शास्त्रीय संगीतको ज्ञानलाई निरन्तरता दिई ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ समेत उत्तीर्ण गरेका थिए ।
थापा यही माघ २७ गते आफ्नो ८५ औं जन्मोत्सवको अवसरमा छैटौं गीतिसंग्रह सार्वजनिक गर्ने योजनामा थिए । थापाका एक छोरा र तीन छोरी छन् । थापाको आजै दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।