काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै उपाध्यक्ष गौतमले आफू आएपछि पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् । ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न,’ उनको भनाइ थियो ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने भन्दै माधव नेपालसहितको एकता हुनुपर्ने बताए ।
उनले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’
गौतमले एमालेका सांसदले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु अनैतिक भएको समेत बताए ।
“माधव नेपालको ठाउँमा म भएको भए पार्टीमा राजीनामा गरेर मात्र शेरबहादुरको लागि सही गर्थें । उहाँले गल्ती गर्नुभएको हो,” उपाध्यक्ष गौतमले केन्द्रीय कमिटी बैठकमा भने, “माधवलाई जसरी पनि पार्टीमा ल्याउँनु पर्छ । त्यसका लागि पार्टी अध्यक्षले संयमता अपनाउनु पर्छ । पार्टी एकता अपरिहार्य आवश्यकता हो ।”
गौतमले पहिला केन्द्रीय कमिटीका सदस्यहरु बसेर छलफल गर्न आग्रह गर्दै भने, “शीर निहुरिन्छ कि भनेर हुँदैन । माधव नेपाललाई पार्टीमा ल्याउन प्रयत्न गर्नुस् ।”
गौतमले माधव नेपालसहितको एमाले एकतामा जोड दिदै महाधिवेशनबाट निर्वाचन हुँदा केन्द्रीय कमिटीमा माधव नेपालका ९ जना मात्र सदस्य कम रहेको स्मरण गराउँदै पार्टी आधा आधा विभाजित अवस्थामा रहेको बताए ।
उनले अध्यक्षको भूमिका संरक्षकको हुनुपर्ने बताउँदै कसैले कसलाई सम्मान गरेन भन्दैमा त्यही खालको व्यवहार देखाउन नहुने जिकिर गरे । ‘अध्यक्ष भएपछि कसैको पक्ष विपक्षीमा हुनुहुँदैन । मैले पटक पटक भन्दै आएको अहिले पनि यही भन्छु,’ गौतमले भने ।