कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप आज (सोमबार) बिहान नेपाल आइपुग्दै छ। कोभिड- १९ विरुद्धको जोनसन एन्ड जोनसन भ्याक्सिन बिहान ११ बजे कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो।

अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो। यो खोप ब्रसेल्सबाट ल्याउन लागिएको हो। अमेरिकाबाट प्राप्त भएको खोप कस्ता नागरिकलाई प्रदान गर्ने भन्ने निर्णय भने सरकारले अहिलेसम्म गर्न सकेको छैन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले भने छुटेका र जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा राखेर यो खोप लगाउने तयारी भइरहेको जानकारी दिएका छन्।

काठमाडौंस्थित अमेरिकी दूतावासले कोभिडविरुद्धको यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ। दूतावासका प्रवक्ता एन्ना रिच एलेनले अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार स्वरुप १५ लाख डोज खोप उपलब्ध गराएको जानकारी दिएकी छन्।

खोपका लागि नेपालले विगत लामो समयदेखि अमेरिकलाई आग्रह गर्दै आएको थियो। अहिलेसम्म नेपालले चीन र भारतबाट ल्याइएका खोप दिँदै आएको छ। अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल भइरहेको सरकारले जनाएको छ।

सम्बन्धित खबरहरु