काठमाडौं – नेकपा (एमाले) को पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलले जुटाएको सहमति अनुमोदन गर्न स्थायी कमिटी बैठक आज बस्न लागेको छ ।

दिँउसो ५ बजे बस्ने बैठकले कार्यदलले आइतबार गरेको १० बुँदे सहमति अनुमोदन गर्ने छ । बैठकअघि अध्यक्ष केपी शर्मा ओेलीले महासचिव ईश्वर पोखरेल र माधव नेपाल पक्षसँग पनि परामर्श गरेका थिए ।

कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले सहमति लगत्तै संवाददाताहरूलाई प्रतिक्रिया दिँदा आफूहरू बैठकमा सहभागी हुने बताएका थिए ।

यता  माधव नेपालले भने एकता प्रति असन्तुष्टि जनाएका छन्। ‘कार्यदलले गरेको सहमतिको विषय मैले हेर्न पाएको छैन। अध्ययन गर्न पाएको छैन। जबसम्म सबै कुरा क्लियर हुँदैन, तबसम्म म कुनै पनि बैठकमा जान्न,’ नेता नेपाललाई उद्धृत गर्दै ती नेताले भने, ‘अदालतको सम्बन्धमा कुनै प्रभाव पार्ने र ढाँचा परिवर्तन गर्ने खालको कुरा मलाई मञ्जुर छैन।’

कार्यदलले गरेको १० बुँदे सहमतिबारे आफूनिकट नेता-कार्यकर्ताहरूसँग छलफलपछि मात्र अगाडिको कदम तय हुने नेता नेपालले बताएका छन्।

आजको सहमतिपछि एमाले एक ठाउँमा उभिएको देखाएर विपक्षी गठवन्धन अल्पमतमा परेको सन्देश अदालतलाई दिन खोजिएको उनले बताएका छन् । नेपालको भाव बुझेर नै उनी निकट नेता रघुजी पन्तले सहमतिपत्रमा हस्ताक्षर नगरेको स्रोतले बतायो ।

एमालेले भोलि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

सम्बन्धित खबरहरु