काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सर्वोच्च अदालतको परमादेश बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपतिले सर्वोच्चले दिएको समय आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सपथग्रहणका बारेमा देउवासँग समेत कुरा गरेपछि समय निश्चित हुने बताइएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला र परमादेश प्राप्त भएको बताए ।

सर्वोच्चले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो । देउवाले आजै सपथग्रहणपछि सानो आकारको मन्त्रिपरिषद गठनको तयारी थालेका छन् ।

सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो। आज बिहान बस्ने विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गर्ने भएको छ।

संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ।

सम्बन्धित खबरहरु