काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका छन्।
बिहीबार दिउँसो २ बजे बुढानीलकण्ठस्थित निवासमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन्। बैठकमा सहभागी हुन पदाधिकारी र पूर्व पदाधिकारीलाई खबर गरिएको छ।
बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार सन्दर्भमा छलफल हुने बताइएको छ।
शेर बहादुर देउवा हिजो मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। देउवाले हिजो नै सानो मन्त्रि मण्डल गठन गरेका छन्। गृह मन्त्रालयसहित कांग्रेसबाट २ जना र माओवादीबाट २ जना मन्त्रि बनेका हुन्। थप मन्त्रिका लागि बैठकमा छलफल गरेर निर्णय लिने देउवाको तयारी रहेको छ।
यस्तै आसन्न महाधिवेशनका बिषयमा पनि छलफल गरिने बताइएको छ। नेपाली कांग्रेसले आगामी भदौमा महाधिवेशन आयोजना गर्ने तयारी थालेको छ।