काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । बिहिबार नेपाल भेट्न प्रचण्ड विप्लवसहित धर्मेन्द्र बास्तोलालाई लिएर उनको निवास कोटेश्वर पुगेका हुन् ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार नेता नेपालसहित प्रचण्ड, विप्लव र धर्मेन्द्र बाँस्तोलाबीच कुराकानी भएको छ। सुरूमा नेपाल र विप्लवबीच कुराकानी भएको थियो। त्यसपछि उक्त छलफलमा प्रचण्ड पनि मिसिएका थिए।
प्रचण्डसँगको भेटमा विप्लवले पूर्वमाओवादी घटकहरूबीच एकताको प्रस्ताव गरेका थिए । प्रचण्ड सम्पूर्ण कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्ने पक्षमा छन् ।
प्रचण्ड विप्लवलाई लिएर नेपाल भेट जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अर्ध भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिमा आएको विप्लबले पछिल्लो समय बामपन्थी नेताहरुसँगको भेटघाटलाई तिब्रता दिईरहेका छन् । हिजो मात्रै विप्लवले प्रचण्डलाई भेटेका थिए ।
ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । उनीहरुबीच वृहत एकिकृत कम्युनिष्ट पार्टी निर्माणबारे छलफल भएको स्रोतले बतायो ।
हिजो प्रचण्ड निवास खुमलटार पुगेका विप्लवले पूर्व माओवादी घटकहरुबीच एकताको प्रस्ताव प्रचण्डसँग गरेका थिए ।
‘पुरानो माओवादीहरुबीचमा एकीरकणबारे छलफल भएको हो । पुरानो एमाले मिल्छ भने पुरानो माओवादी पनि मिल्नुपर्यो नि।’ विप्लव निकट एक नेताले बताएका थिए। ‘सबै कम्युनिष्टहरु ध्रुविकृत हुनुपर्छ, केन्द्रिकृत हुनुपर्छ भनेर अध्यक्ष्यले सार्वजनिक रुपमा आह्वान गरिरहनु भएको छ । यो विषयमा कुरा नहुने भन्ने हुँदैन।’
विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए । तर, सो सम्झौता बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गुनासो विप्लव समूहले गर्दै आएको छ ।
प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।