काठमाडौं – प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बस्नेगरी प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतको फैसलाबमोजिम पुनःस्थापित प्रतिनिधिसभा बैठकको अधिवेशन बोलाउने निर्णय भएको जानकारी दिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।
त्यस्तै सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो ।
दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि प्रवक्ता कार्कीले अन्नपूर्ण टाइम्सलाई जानकारी दिए ।
मन्त्रिपरिषद्को ६ माघ २०७६ मा बसेको बैठकले सत्य निरूपणको अध्यक्षमा गणेशदत्त भट्ट र बेपत्ता छानविन आयोग अध्यक्षमा युवराज सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
एक वर्षलाई नियुक्त भएका उनीहरूको म्याद सकिएपछि यसअघि उनीहरूको म्याद दुईपटक थपिएको थियो । द्वन्द्वकालीन मुद्दाको निरुपण गर्न साढे ६ वर्षअघि दुई आयोग गठन भएका थिए ।
राजनीतिक दलहरूको स्वार्थ बाँझिदा आयोले अहिलेसम्म खासै काम गर्न सकेका छैनन् । साढे ६ वर्षको अवधिमा द्वन्द्वपीडित र बेपत्ता व्यक्तिको पहिचान र सूचीकरण गर्ने बाहेक खासै काम हुन सकेको छैन ।
पछिल्लो समय काम गर्ने अवसर पाएका भट्ट र सुवेदी नेतृत्वको आयोगले पनि केही द्वन्द्वपीडितलाई परिचय पत्र दिने बाहेकको काम गर्न सकेको छैन ।