काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर टोलीसहित बालकोट पुगेका छन्।

अहिले भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता जारी छ। छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन्। ओली सत्ताबाट बाहिरिएपछि पहिलोपटक जसपाको ठाकुरपक्षसँग भेटवार्ता भएको हो।

ओली नेतृत्वको सरकारमा जसपाको यो समूह सहभागी भएको थियो। ओली सत्ताच्युत भएपछि उनीहरूबीच शनिबार पहिलोपटक भेटवार्ता भइरहेको हो।

जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । ओलीसँग छोटो समयमात्र सत्ता सहकार्य गरेको जसपाको महन्थ पक्षले पनि शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ ।

सर्वोच्च अदालतको फैसलालाई हेर्ने दृष्टिकोणमा पनि दुवै पक्षबीच समानता रहेको जसपा नेताहरुले बताएका छन् । एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षले देउवालाई साथ दिएका छन् ।

बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट मात्र भएको छलफलमा सहभागी जसपाका नेता शरतसिंह भण्डारीले बताए।

‘केही खास होइन, उहाँ प्रधानमन्त्री हुँदासँगै काम गरेको, बालुवाटार गइरहेको हुन्थ्यौं। त्यहाँबाट बालकोट जानु भयो, हामी शिष्टाचार भेट गर्न गएका हौं’ भण्डारीले अन्नपूर्णसँग भने।

भेटमा ओलीले प्रधामन्त्रीबाट बाहिरिएपछि आफूले ‘रिल्याक्स’ महशुस गरेको बताएको भण्डारीले जानकारी दिए।
‘उहाँले प्रधानमन्त्रीबाट बाहिरिएपछि ठिकै भयो,आनन्द भयो, रेष्ट अनि रिल्याक्सपनि भयो भन्नु भयो’ ओलीलाई उदृत गर्दै भण्डारीले भने।

सम्बन्धित खबरहरु