काठमाडौं – नेपालमा थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबार थपिएका दैनिक संक्रमितको संख्या १ महिनाको अवधिमा सबैभन्दा उच्च हो। यसअघि गत जेठ २९ गते ३ हजार ३८४ जना संक्रमित थपिएका थिए। त्यसयता दैनिक थपिने संक्रमितको संख्या ३ हजारभन्दा कम थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा ३ हजार १०८ संक्रमित थपिएका हुन्।

गत २४ घण्टामा ८ हजार ८३६ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा २ हजार २०२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभर ४ हजार ९९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ९०६ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।

सम्बन्धित खबरहरु