नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी बैठक सुरू भएको छ। काठमाडौंको शंखमुलमा सुरू बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकीकरणको आगामी संभावनाबारे छलफल जारी छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने विषयमा सहमति जुट्न नसकेपछि गत साउन ३ गते यता स्थायी कमिटी सदस्यहरू जुट्न सकेका थिएनन्।
बुधबार बैठकमा साउन ३ यताको राजनीतिक परिस्थिति र एमाले एकताकै विषयमा छलफल केन्द्रीत हुने एक स्थायी कमिटी सदस्यले बताए।
बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएका कार्यदल सदस्य रहेका स्थायी कमिटी सदस्यहरू पनि उपस्थित छन्। अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूलाई कारवाही गर्ने बताइरहेका बेला बुधबारको छलफल त्यो विषयमा पनि केन्द्रीत हुने नेताहरूले बताएका छन्।
मंगलबार साँझ बसेका नेपाल पक्षका सांसदहरूको बैठकले बुधबारका लागि स्थायी कमिटी सदस्यहरूको बैठक तय गरेको थियो। मंगलबारको बैठकमा कानुनी प्रक्रिया पुग्छ भने अलग पार्टी बनाएरै अघि बढ्नुपर्ने बारे छलफल भएको थियो।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे भने मंगलबार छलफल नभएको नेताहरूले बताएका थिए। उनीहरूले प्रतिपक्ष दल भएकाले सरकारमा सहभागी हुने प्रश्नै नउठ्ने बैठकपछि बताएका थिए।
गत आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए। उनीहरूमाथि अनुशासनको कारबाही गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन्। अध्यक्ष ओलीले बोलाएको एमालेको केन्द्रीय कमिटी बैठक बुधबार पनि बस्दैछ।