काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ ।

त्यसअनुसार २१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । त्यो बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

बुधबारको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनका शक्तिहरुसँग छलफल गर्ने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिए।

‘हामीले जुन प्रवृतिका विरुद्धमा संघर्ष गर्‍यौं, त्यो हामीमा कुनै पनि ढंगबाट देखिनुहुँदैन भन्ने कुरामा सबै जनाको जोड रह्यो,’ श्रेष्ठले भने, ‘त्यसको निम्ति गठबन्धन सरकारलाई न्युनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धतामार्फत अगाडि बढाउनुपर्ने भएकाले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा प्राथमिकताका कार्यक्रमहरु, प्रतिबद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ र त्यसै अनुसार कार्यदलका साथीहरुलाई निर्देशन दिइएको छ।’

आज सरकार गठनबारे धेरै छलफल नभएको श्रेष्ठले बताए। तर छिट्टै मन्त्रिपरिषद विस्तार हुने उनले बताएका छन्।

‘गठबन्धनका सबै दलसँग छलफल भइरहेको छ। समर्थन गरेका सांसदहरूसँग पनि छलफल भइरहेको छ। सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व गर्ने गरी सरकारलाई पूर्णता दिन उपर्युक्त हुने भएकोले हामी सबै गठबन्धनका शक्तिहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिने निर्णय गर्छौं,’ उनले भने।

सम्बन्धित खबरहरु