काठमाडौं – चार दिनदेखि जारी नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक सकिएको छ। बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन र पार्टी एकताका लागि आम माफी दिएर भने पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।
विहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ । अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ । छलफल चलिरहेकाले यस बारेमा अरु निर्णय गरेका छैनौं ।’
उनका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर सम्वाद भइरहेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताएका छन् ।
हामी अझै पनि पार्टी एकता र कम्युनिष्ट आन्दोलन जोगाउन छलफलमा छौँ। माधव पक्षसँग वार्ता जारी छ। अबको केही दिनका छलफलहरूले धेरै कुरा तय गर्छ’, ज्ञवालीले बैठकपछि भने, ‘हामीले प्रवृत्तिसँग सम्झौता गर्ने होइन, व्यक्तिलाई रोग लाग्यो भने रोग निको बनाउने हो। हरेक नेतृत्वको प्रयास अन्तिमसम्म पनि कमजोरीबाट जोगाउने हुन्छ। हामी त्यही उपचार प्रयासमै छौँ।’
ज्ञवालीले माधव पक्षसँगको एकता प्रयासको जिम्मेवारी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको बताएका छन्। ‘अध्यक्ष कमरेडले अब एकताका लागि अन्तिम प्रयास गर्नुहुनेछ। यो विवाद र रडाको अब निश्चित अवधिका लागि हो’, उनले अगाडि भने, ‘हामी आशा गर्छौँ एमाले एकता बचाउँदै चाँडै सकारात्मक निष्कर्षमा पुर्याउँछौँ।’
उनले अध्यक्ष ओलीले पनि आजको बैठकमा हदैसम्म लचिलो भएर एकता प्रयास गर्ने बताएको जानकारी दिए। ‘अध्यक्ष कमरेडले पनि एकताकै बाटोमा जाने बताउनु भएको छ। उहाँले आजको बैठकमा एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने बताउनु भएको छ’, ज्ञवालीले थपे, ‘माधव कमरेडले अपमानित हुने ठाउँमा बस्दै बस्दिनँ भनेकोप्रति मेरो टिप्पणी केही छैन। तर हाम्रो प्रयास आन्दोलनको रक्षा हो। यति ठूलो धक्का दिएर कसैलाई त्यसप्रति पछुतो छैन भने त्यो उहाँहरुको कुरा हो। तर हामी अन्तिम प्रयास गर्छौँ।
त्यस्तै बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा ४ वटा ‘विशेष’ प्रस्ताव पारित भएको ज्ञवालीले जानकारी दिए। बुधबारको बैठमा सर्वोच्चको असार २८ गतेको फैसला, पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको ४१ महिनाको समीक्षा, संसदमा प्रतिपक्षीको रुपमा पार्टीको भूमिका र आन्तरिक विवादका सन्दर्भमा पेस भएका प्रस्ताव पारित भएको ज्ञवालीले जानकारी दिए।
पहिलो प्रस्तावमा बैठकले संविधानको धारा ७६ को (५)लाई सच्याउन (संशोधन गर्न) पहल गर्ने प्रस्ताव पारित गरेको छ।सर्वोच्च अदालतले २८ असारमा सुनाएको फैसलामा धारा ७६ को उपधारा (५) का सन्दर्भमा गरिएको ब्याख्या निर्दलीयतालाई प्रसय दिने खालको भएकाले त्यसलाई संशोधन गर्नेसहितको प्रस्ताव पारित भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
दोस्रो प्रस्तावका रुपमा ओली नेतृत्वको सरकार अनेकन प्रतिकुलताका वावजुद एतिहासिक कामहरु गर्न सफल भएको ठहर गरिएको छ ।
तेस्रो प्रस्तावमा एमालेले प्रतिपक्षका रुपमा प्रभावकारी भूमिका खेल्ने तथा संविधान, राष्ट्रियता र लोकतन्त्रका विषयलाई अग्रपंतिमा रहेर उठाउने उल्लेख छ ।
चौंथो प्रस्ताव कार्यकर्ताहरुलाई विद्यमान परिस्थितिबाट निराश नहुन आह्वान गर्दै छिट्टै पार्टील कमब्याक गर्ने भनिएको छ ।कमब्याकको अर्थ के हो भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले भने, ‘यो भनेको फेरि चुनाव जितेर सरकारमा आउँछौं भनेको हो ।’ बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रत्यत्न गर्ने बताएका थिए ।
त्यस्तै ओलीले बैठकलाई सम्बोधन गर्दै पार्टी एकताको लागि अन्तिमसम्म पहल गर्ने बताएको उनले जानकारी दिए। पार्टी बैठक बिहिबार ३ बजेको लागि फेरि बोलाइएको छ।