काठमाडाैं – सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ। सत्तारुढ दलका शीर्ष नेताहरुबीचको बैठक आज साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको हो।
बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए।
बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पनि उपस्थित थिए। बीचमा उनले गठबन्धनमा जान छाडेका थिए।
बैठकमा सरकारलाई प्रभावकारी बनाउने विषयमा गठबन्धनमा छलफल र सहमति भएको एक नेताले बताए।
सरकार गठन भएको एक हप्ता भन्दा बढी समय भइसकेको र प्रधानमन्त्रीले विश्वासको मत लिइसकेको अवस्थामा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार विहान प्रधानमन्त्री देउवा र नेकपा एमालेका नेता नेपालसँग भेट गरेका थिए ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालबारे परामर्श भएको जनाएको छ ।
प्रधानमन्त्री देउवाले आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। जसमा नेपाली कांगेसबाट दुई र माओवादी केन्द्रका दुई मन्त्री छन्। अन्य दलबाट मन्त्री नियुक्त गरिएको छैन। सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताइसकेको छ।