काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो कारण बनेको सत्ता गठबन्धनलाई सघाएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

आज विहान नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमालेभित्र भइरहेको एकता प्रयासको बारेमा समेत जिज्ञासा राखेका थिए । नेपालले पार्टी एकताको प्रयास जारी रहे पनि केपी ओलीको नियत ठिक नभएको बताएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

प्रचण्डले अब मन्त्रिपरिषद विस्तार लामो समय रोकेर राख्न नमिल्ने भन्दै एमालेभित्रको अवस्था टुंगो लगाएर सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । शनिवार पनि नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर गएका थिए ।

तत्कालीन नेकपामा देखिएको विवादले सुरु गरेको सहकार्य गठबन्धन सरकारमा पनि निरन्तरता दिन प्रचण्डले माधव नेपाललाई निरन्तर फकाइरहेका छन्। कांग्रेस र माओवादीले माधव पक्षलाई सरकारमा ल्याउन दल विभाजनसम्बन्धी कानुन खुकुलो बनाउने वाचा पनि गरेका छन्।

तर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको संवाद जारी रहेकाले माधव नेपालले अझै सरकारमा जाने नजाने निर्णय लिन सकेका छैनन्। माधव अनिर्णित बनिदिँदा देउवाले प्रधानमन्त्री भएको दुई साता बितिसक्दा पनि क्याबिनेट विस्तार गर्न सकेका छैनन्।

क्याबिनेट विस्तारमा अड्चन आएपछि प्रचण्ड मंगलबार बिहानै खुमलटारबाट कोटेश्वर पुगेर नेता नेपाललाई फकाउने कोसिस गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाएपछि पाँच दलीय गठबन्धन छाडेको घोषणा गरेका नेता नेपाल पछिल्लो पटक बालुवाटार प्रवेश गरेका थिए।

एमालेको वार्ता जारी रहेको अवस्थामा पनि नेपाललाई बालुवाटार लैजान सफल भएका प्रचण्डले आज पनि कोटेश्वर पुगेर सरकारमा आउन आग्रह गरे। स्रोतका अनुसार प्रचण्डले अब सरकारमा आउन ढिला गर्न नहुने कुरा नेपाललाई सुझाएका थिए।

‘गठबन्धन सरकार बनेको पनि लामो समय भएको छ, क्याबिनेट विस्तार हुन सकेको छैन’, दाहालको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘तपाईंहरु पनि पनि सरकारमा आउनुस्, अब ढिला नगरौँ।’

हिजो मात्रै बसेको माधव पक्षीय स्थायी कमिटी बैठकले एमालेको एकता बचाइ राख्न ओली पक्षसँगको वार्तालाई अघि बढाउने निष्कर्ष निकालेको थियो। एमालेमै रहनुपर्ने दोस्रो तहका नेताको दबाब झेलिरहेका नेता नेपालले प्रचण्डको कुरा सुनेपछि सल्लाह गरिरहेको जवाफ दिएका छन्।

‘देउवाजीलाई हामीले विश्वासको मत दिएका छौँ। तर सरकारमा जाने नजाने विषयमा म साथीहरुसँग सल्लाह गर्दैछु’, प्रचण्डलाई जवाफ दिँदै नेता नेपालले भने, ‘एकता वार्ता पनि जारी रहेकाले थप सल्लाह गरेर मात्रै यसबारेमा निचोडमा पुग्न सकिन्छ।’

सम्बन्धित खबरहरु