काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ। देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। दुई बीच मंगलबार बिहान भेट भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
यद्यपि अझैपनि गठबन्धनमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तार गर्न केही समय लाग्ने उनको भनाइ छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाएपनि त्यसपछि मन्त्री थप्न सकेका छैन । यसैबीच दुई दिन अघि देउवाले एक जना राज्यमन्त्री थपेका थिए ।
जसपाको उपेन्द्र यादव पक्षले आधिकारिता पाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ। सो पार्टीले केही दिनमै सरकारमा जाने बताइसकेको छ।
अहिले मन्त्रिपरिषद्मा कांग्रेस र माओवादी केन्द्रका तर्फबाट सहभागिता छ। देउवा प्रधानमन्त्री भएको दुई हप्ता बितिसक्दा पनि सरकारको अपेक्षित विस्तार हुनसकेको छैन। देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारकै विषयमा छलफल भएको आकलन गरिएको छ।