काठमाडौं – मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।
एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला प्रचण्ड र नेपालबीचको वार्तालाई अर्थपूर्णरूपमा लिइएको छ । शुक्रबार पनि प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
दुई नेताबीच भएको छलफलको विषय भने सार्वजनिक गरिएको छैन। सरकार विस्तार र नेपाल पक्षको सहभागिताबारे छलफल भएको हुनसक्ने एक नेताले बताए।
शनिवार देउवा र प्रचण्डबीचको छलफलमा पनि माधव पक्षलाई सरकारमा सहभागी गराउने समझदारी बनेको नेताहरूले बताएका छन्
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेपाल पक्षभित्र सरकार जान हुने र नहुनेमा दुई मत छ। एमाले एकताको प्रयास भइरहेकाले तत्काल सरकारमा जान नहुने एकथरीको तर्क छ भने अर्कोथरी नेताहरूले आफूहरूकै कारण प्रतिनिधि सभा बचेको र देउवा प्रधानमन्त्री भएको भन्दै त्यसको अपनत्व लिनका लागि पनि सरकारमा जनुपर्ने तर्क छ।
नेता नेपाललाई भेटेर प्रचण्ड अहिले माओवादीको स्थायी समिति बैठकमा सहभागी भएका छन्। बैठक माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ।
माधव पक्षको सहभागिता नटुंगिएकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । नेपालले आज निर्णय गरेमा सोमबार मन्त्रिपरिषद् विस्तार हुने र नेपाल पक्षलाई कम्तीमा ६ मन्त्रालय दिने समझदारी समेत बनेको छ ।