नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक सकिएको छ।  आज बिहान ११ बजेदेखि पेरिसडाँडामा बसेको बैठक सकिएको हो। बैठकमा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ।

छ हजार सात सय ४३ वटै वडामा वडा कमिटी गठन गर्न माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले निर्देशन दिएको हो। वडा कमिटी गठन गरी त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिनुपर्नेछ। साउन ३० मा माओवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

त्यो बैठकमा आउँदा केन्द्रीय सदस्यहरूले आफ्नो प्रदेशभित्रका वडाको वडा कमिटी गठनको विवरण लिएर आउनुपर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

माओवादीले तयारी नपुगेको भन्दै साउन २० गतेदेखि हुने भनेको केन्द्रीय कमिटी बैठक दश दिन सारेको छ। साथै सरकारमा जाने मन्त्रीहरू टुंग्याउनका लागि सोमबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक पनि बस्ने निर्णय भएको छ।

यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीलाई पर्खिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन्।

आइतबार बसेको माओवादीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले जसपा र नेपाल पक्षले केही दिन पर्खिन भनेको बताए।

‘जसपा र माधव नेपालपक्षलाई पर्खिएकाले मन्त्रिपरिषद् विस्तारका विषयमा ढिला भइरहेको छ। केही समय माग्नु भएको छ। धेरै ढिला गर्नु हुँदैन छिट्टै सरकारलाई पूर्णता दिनुपर्छ’, उनले भने ।

सम्बन्धित खबरहरु