काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।
“पार्टीले आज माओवादीका तर्फबाट मन्त्री टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको छ,” माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने ।
आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।
आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना नदेखिएको ‘बिफ्रिङ’ गरेका थिए । त्यसैले अब मन्त्रालय भागबण्डा गरेर सरकारलाई पूर्णता दिने पक्षमा माओवादी केन्द्र पुगेको हो । त्यसैले आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने नेताहरुले बताएका छन् ।
माओवादीको तर्फबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री भइसकेका छन् । गठबन्धन सरकारमा अब माओवादीले पाँच जना मन्त्री पाउने भएको छ ।
नयाँ बन्ने मन्त्रीको लाइनमा हरिबोल गजुरेल,देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ,बीना मगर, देव गुरुङ शिव कुमार मण्डल,अञ्जना विशंखे,जयपुरी घर्ती, सन्तकुमार थारु, यशोदा सुवेदी रहेका बताइएको छ ।