काठमाडौँ – मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो ।

बैठकमा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका भने कोहि पनि सहभागी छैनन्।  सरकारमा नेपाल पक्ष सहभागी नहुने भएपछि गठबन्धनको बैठकमा नेपाल पक्ष जान छोडेको हो। त्यस्तै बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि आउन छाडेका छन्। देउवा सरकारले एमसीसीलाई साथ दिएको भन्दै उनी बैठकमा आउन छाडेका हुन्।

आजै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो । सो बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको थियो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेस, माओवादी र जसपा सम्मिलित कार्यदलले सरकार सञ्चालनका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिरहँदा तीन विषयमा डकुमेन्ट ड्राफ्ट गरेको हो ।

कार्यदलका सदस्य रमेश लेखकका अनुसार ड्राफ्ट गरिएका तीन वटा डकुमेन्टमा न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिताको सवाल रहेको छ । यसबारे कार्यदलमा थप छलफल चलिरहेको र छिटै अन्तिम रुप दिइनेछ ।

कार्यदलको बैठक मन्त्री छनोट र नियुक्तिका विषयमा भने प्रवेश नगरेको कार्यदलका सदस्य लेखकले अन्नपूर्ण टाइम्सलाई  जानकारी दिए । शीर्ष नेताको बैठकमा कार्यदलको ड्राफ्टका साथसाथै मन्त्रिपरिषद् विस्तारको विषयमा सहमति जुटाइने बताइएको छ ।

नेताहरुका अनुसार देउवा सरकारलाई सघाएको माधव नेपाल पक्ष भने सरकारमा सहभागी नहुने मुडमा देखिएको छ । शीर्ष नेताको बैठकमा पनि आज नेपाल सहभागी छैनन् ।

सम्बन्धित खबरहरु