गीतकार नरेश प्रधानको शब्द रचना, गायक रामकृष्ण ढकालको स्वर तथा संगीतकार दिपक शर्माको संगीत सिर्जना रहेको ‘तिमी मेरी हुन सकिनौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गत मंगलबार काठमाडौंको बालाजुस्थित एनएफडिसीमा आयोजित कार्यक्रममा उक्त म्युजिक भिडियोसंग सम्बन्धित कलाकार एवं संगीतकर्मीहरुको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको हो ।रिदम कंडेलको संगीत संयोजन रहेको उक्त गीतलाई साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीले ध्वनी मुद्रण तथा मिश्रण गरेका हुन् भने गीतलाई फुर्बा पाख्रिन तामाङले रेकर्डिङ गरेका हुन् ।
केहि समयदेखि सामाजिक जनचेतनाका गीतहरु रचना गर्दै आएका गीतकार नरेश प्रधानले यस गीतमार्फत् मायाप्रेमका गीत रचनामा समेत आफू अब्बल रहेको प्रमाणित गर्ने प्रयास गरेका छन् ।
मनोज राजभण्डारीको निर्देशन रहेको उक्त वियोगान्त प्रेमकथामा आधारित म्युजिक भिडियोमा मोडल निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय हेर्न सकिन्छ । भिडियोमा दिपेन बस्नेत र सास्वत श्रेष्ठको छायाँकन तथा मेरोन राजभण्डारीको कथा एवं सम्पादन रहेको छ । एनएफडिसीको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा किमत गौतमले प्राविधिक निर्देशन, श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र मित्र डि. गरुङले कलर करेक्सन गरेका हुन् भने भिडियोमा रहेको ड्रोन शटलाई टार्जन लिम्बुले खिचेका हुन् ।
कार्यक्रममा सोही गीतको फिमेल भर्जन पनि सार्वजनिक गरिएको थियो जसमा गायिका बुनु श्रेष्ठको स्वर रहेको छ । मेल, फिमेल र डुएट गरी ३ संस्करणमा सार्वजनिक हुने भनिएको उक्त गीतको मेल भर्जनको म्युजिक भिडियोलाई सोहिदिन स्टुडियो साउण्ड मिलले आफ्नो अफिसियल युट्यूब च्यानलमा समेत सार्वजनिक गरेको थियो भने युट्यूबमा गायिका बुनु श्रेष्ठको स्वरमा रहेको फिमेल भर्जनलाई करिब १ महिना पश्चात् र डुएट भर्जनलाई केहि समयको अन्तरालमा सार्वजनिक गर्ने स्टुडियो साउण्ड मिलले जनाएको छ ।