नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरुले असार २७ गते कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन हुने ग्यारेन्टी खोजेका छन्। राजधानीको बुद्धनगरमा जारी नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यहरुले एमाले एकतालाई १० बुँदे सहमतिकै आधारमा टुंग्याउनुपर्ने मत राखेका हुन्।

आज बोल्नेहरूले १० बुँदे सहमतिलाई सन्तोषजनक भन्नुभएको छ। तर यो सहमतिलाई उहाँहरुले उत्साहप्रद मान्नु भएन। उहाँहरूको मत पनि मिलेरै जानुपर्छ भन्ने छ’, एक नेताले भने।

बैठकमा सहभागी नेताहरुले उक्त सहमति अनुसार अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार हुनेमा भने शंका गरेका छन्। ‘१० बुँदे सहमतिलाई अघि बढाउन समस्या छैन। तर तर केपी ओलीले जुनसुकै बेला धोका दिन सक्छन्’, बैठकमा सहभागी नेताहरुले भने, ‘१० बुँदे सहमति कार्यान्वयनको ग्यारेन्टी कसले गर्ने हो? त्यो सहमति कार्यान्वयनको ग्यारेन्टी हुने हो भने एकता अघि बढ्न समस्या छैन।’

बैठकमा वरिष्ठ नेता नेपालले पनि एकताको प्रक्रिया वार्तामार्फत अघि बढिरहेको बताएका छन्। ‘एकताको प्रक्रिया र वार्तामार्फत अघि बढेको छ। केही सहमति पनि भएको छ। यस विषयमा थप छलफल भइरहेको छ’, ‘एकता हाम्रो इच्छा र चाहाना हो। हामी वार्तामा सामेल छौँ। सकारात्मक निचोड आउनेमा हामी विश्वस्त छौँ’ नेता नेपालले भने।

नेपाल पक्षीय नेता रघुजी पन्तका अनुसार आजको बैठकमा विजय पौडेल, झपट रावल, प्रेमल खनाल, सावित्रा भुसाल चूडामणि जंगली, भागवत विश्वासी, सुरेन्द्र मानन्धर र भानुभक्त जोशीसहितले बोलेका थिए। केन्द्रीय सदस्यहरुले बोल्ने क्रम रहेकाले बैठक भोलि पनि जारी रहने पन्तले बताएका छन्।

सम्बन्धित खबरहरु