काठमाडौं – कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने अभियान आजदेखि सुरु हुँदैछ । गत असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो मात्रा लगाउन पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ । दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि सरकारले आग्रह गरेको छ ।
अहिलेसम्म खोप नलगाएकाहरुलाई भने स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अनिवार्य नाम दर्ता गर्न सरकारले यसअघि नै भनिसकेको छ ।
त्यस्तै आउँदो २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउने भएको छ । खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ । दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप प्रयोगमा आइरहेको छ ।