काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमण भएको जनाएको छ ।
माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो । हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं घोर निन्दा गर्दछ ।’
राजनीतिको यो हदको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई अपील गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।
साविकको नेकपाबाट निर्वाचित खत्रीले १९ वैशाखमा माओवादी केन्द्र रोज्ने निर्णय गरेकी थिइन् । तर १५ साउनमा आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ल्याएर बन्धक बनाएको, एमालेमा फर्किएको भनेर वक्तव्य जारी गर्न लगाएको र २० गते आफू त्यहाँबाट भाग्न सफल भएको भन्दै वलीले बिहीबार पत्रकार सम्मेलन गरेकी थिइन् । एमाले र प्रदेश सरकारले भने त्यसको खण्डन गरेको छ ।
त्यस्तै बैठकमा सरकारलाई छिटै पूर्णता दिने बारे पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले गठबन्धनमा अझै माओवादी केन्द्रलाई कति मन्त्रालय र कुन-कुन मन्त्रालय पाउने फाइनल नभएकाले को-को मन्त्री पठाउने बारे अझै छलफल गर्न बाँकी रहेको बताए। ‘कति मन्त्रालयल पाउने र कुन कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागेपछि मात्रै व्यक्तिको टुंगो लाग्ने कुरा हुन्छ’, उनले भने, ‘गठबन्धनमा छलफल भएर दुई तीन दिनभित्रै पूर्णता पाउने अपेक्षा गर्न सक्छौं ।
शुक्रबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको ‘साझा न्युनतम कार्यक्रम’ बारे अध्यक्ष प्रचण्डले बैठकलाई जानकारी गराएका थिए । कार्यदलले आजै बालुवाटारमा आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको थियो ।
बैठकले तत्काल गठबन्धनको तर्फबाट उक्त साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै कार्यदललाई साझा कार्यक्रम तयार गरेकोप्रति बैठकले धन्यवाद पनि दिएको छ ।
यस्तैगरी संविधान तथा कानुनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न पनि बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।