काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादीको नयाँ कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेको छ। उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पठाइएको अभिलेख अद्यावधिक गरिसँगै महन्थ ठाकुर पक्षले अध्यक्ष पद पनि गुमाएका छन्।

जसपाको आधिकारिकता पाएको यादव पक्षले कार्यकारिणी समिति बैठकको निर्णयको विवरण आयोगमा पठाएको थियो। त्यसलाई अभिलेखिकरण गरिएको पुष्टि आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरेका छन्।

यससँगै अब महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष आजदेखि कानुनी रुपमै जसपाबाट बाहिरिएका छन्। जसपाको आधिकारिकता गुमाएपछि ठाकुर-महतो पक्ष अहिले नयाँ पार्टी निर्माणका लागि तराई-मधेस अभियानमा छ।

अब जसपाको अध्यक्षबाट महन्थ ठाकुर कानूनी रुपमा हटेका छन् । ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्यमात्र भएको छ ।

गत वर्ष वैशाखमा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी विभाजन हुन लागेपछि रातारात तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण गरेर महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको कार्यकारिणी समिति निर्वाचन आयोगमा दर्ता भएको थियो । यसबीचमा विवाद बढेर जसपाको आधिकारिकता यादवले पाएका थिए ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले यादव पक्षमा उभिएका थिए भने १६जना ठाकुर पक्षमा । दुवैतिर नलागेका रेशम चौधरीलाई भने उपेन्द्र पक्षले कार्यकारिणी समितिमा स्थान दिएको छ ।

सम्बन्धित खबरहरु