काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम् कार्यक्रममा एमसिसि किन नराखेको भन्दैं प्रश्न गरेका छन्।
मंगलबारको संसद बैठकमा विषेश समय लिएर बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्रीलाई सोधे- एमसिसि के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?
प्रतिनिधिसभामा बोल्दै ओलीले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा ‘कांग्रेसको अनुहार खोइ ?’ भनी प्रश्न गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वकै अघिल्लो सरकारले एमसीसी सम्झौता गरेपनि संयुक्त सरकारले एमसीसीबारे प्रष्ट धारणा नराखेको ओलीको टिप्पणी छ । उनले एमसीसी पास गर्ने, नगर्ने वा चुप लाग्ने के हो ? भनी प्रधानमन्त्रीलाई प्रश्न समेत गरे ।
‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ? एमसीसी पास गर्ने की फेल गर्ने की चुप लाग्ने ?’ ओलीले प्रश्न गरे । उनले सरकारले आफ्नो कार्यक्रम संसदमा नल्याएर संसदलाई छलेको आरोपसमेत लगाए ।
त्यस्तै ओलीले आफू मूल ढोकाबाट फेरि सरकारमा आउने समेत बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू असाधारण जनमतका साथ मूल बाटोबाट आउने बताएका हुन् ।
‘म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु,’ ओलीले भने ।उनले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताए ।
‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्धत्री बनाएका हुन्,’ उनले भने ।
ओलीले भने, ‘म यो देश र यस देशका जनताको सेवाको निम्ति जन्मिएको जस्तो लाग्छ । म प्रधानमन्त्री बन्न जन्मिएको होइन । काम गर्दै जाँदा भएँ । म ६४ वर्षसम्म त प्रधानमन्त्री थिइनँ । भइयो । प्रधानन्त्रीबाट हट्दा भनेको थिएँ । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मुलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।’
ओलीले थपे, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर जनताले मत दिएर हो । म विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्या, जलन आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । उछिट्टएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनदेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।’