लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने र मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने गठबन्धनको रणनीति छ ।

गठबन्धनमा भएको सहमतिअनुसार सुरुको आठ महिना माओवादी केन्द्र संसदीय दलका नेता केसी मुख्यमन्त्री बन्नेछन् । त्यसपछि सरकारको नेतृत्व कांग्रेसले गर्ने छ ।

मुख्यमन्त्रीसँगै माओवादी केन्द्रबाट एकजना, नेपाली कांग्रेसबाट एकजना र जसपाबाट तीन जनालाई समेटेर मन्त्रीहरुको नियुक्ति र सपथ आजै हुने सम्भावना रहेको माओवादी केन्द्रका एक नेताले बताए । ‘कम्तीमा ६ जनाको मन्त्रिमण्डल आजै बन्छ,’ उनले भने, ।

स्रोतका अनुसार माओवादी केन्द्रबाट दाङका दामा शर्मा र इन्द्रजित चौधरीको चर्चा छ । यीबाहेक गुल्मीका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालको सम्भावनासमेत रहेको छ ।

नेपाली कांग्रेसबाट पाल्पाका बीरबहादुर राना वा दाङका डिल्लीबहादुर चौधरीमध्ये एकजना मन्त्री बन्ने कांग्रेस संसदीय दलका एक सदस्यले बताए । राना पार्टीमा रामचन्द्र पौडेल पक्षका हुन् भने चौधरी देउवा पक्षका हुन् ।

जनता समाजवादी पार्टीबाट भने तीनैजना मन्त्री बन्ने निश्चित भएको छ । संसदीय दलका नेता कपिलवस्तुका सहसराम यादवको नेतृत्वमा बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुरमति ढेंगा मन्त्री बन्ने छन् । तीनजना मध्ये दुई जना विनाविभागीय मन्त्री बन्ने सहमति भएको छ ।

रायमाझी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन् । उनले असार १८ गते राजीनामा दिएर पार्टीमा फर्केपछि सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्री पोखरेलले बुधबार पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित खबरहरु