काठमाडौँ – प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्नेछ। संसद सचिवालयले आजकाे बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेकाे छ।

यस अघि बिहीबारकाे बैठकमा निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्थाको तथ्याङ्कका विषयमा सत्ता र प्रतिपक्षसँग कुनै विमति नहुने र तथ्यहरुको तोडमोड गर्न नमिल्ने बताएका थिए।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पौडेलले अर्थमन्त्री जनार्दन शर्माबाट प्रस्तुत मुलुकको आर्थिक स्थितिको वक्तव्यले पूर्ववर्ती सरकारलाई आरोपित गर्ने काम गरेको टिप्पणी गरे।
यस्तै नेपाली कांग्रेसका गगनकुमार थापाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले केहीदिन अघि सदनमा दिएको वक्तव्यको आलोचना गर्दै उनले तीन वर्ष सरकार चलाउँदा प्रतिपक्षसँग कुनै संवाद नगरिएको स्मरण गराए।
बिहीबारकाे बैठकमा प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्स नाप र तौल (पाँचौ संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेका थिए।