काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक शनिबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ।
बिहीबार शुरु भएको बैठकमा शुक्रबारसम्म गरि ३१ केन्द्रीय र आमन्त्रित सदस्यहरुले धारणा राखेका छन्। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क्रियाशील सदस्यतामा केन्द्रित रहेको देखिएको छ। कांग्रेसले केन्द्रीय सदस्यको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ।
कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गत स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन्।
बिहीबार शुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए भने अन्य नौ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए।