काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् ।

शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।

उनले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यक्ता भएको प्रष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताए ।

‘अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भयो । विकृति विसंगति धेरै कुरामा देखापरे’, नेता नेपालले भने, ‘यो समस्याको समाधान गर्ने कि त्यहीभित्र छिर्ने भन्ने प्रश्न छ । त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनैपनि काम गरिँदैन, त्यसका विरुद्ध जुधिन्छ’ उनले अपमान सहेर पार्टी एकता गर्न नसकिने पनि बताए ।

‘वामदेव कमरेडजस्तो अपमान भएर, अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने ? न रुन सकिने न हाँस्न सकिने ? त्यो अवस्थामा कोही पनि नपरून्’ नेता नेपालको भनाइ छ । उनले अन्तिम समयसम्म पनि आफु एकताको पक्षमा लागेको र त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।

नेपालले गलत प्रवृत्तिसँग कहिल्यै पनि सम्झौता नगरिने बताए। उनले कम्युनिष्ट आन्दोलनभित्र चुनौती धेरै रहेको भन्दै एमालेले आफ्नो जनविश्वासलाई काबुमा राख्न नसकेको बताए।

‘गलत र अहंकारी प्रवृत्तिले हामीले आफ्नो जनविश्वास कायम राख्न सकेनौं, तर जनविश्वास खस्किएको भए पनि मैदान खाली नै छ,’ उनले भने, ‘समयमै हाम्रो आँखा खुल्नुपर्छ, कहाँ कहाँ त्रुटी छन् सच्याउनुपर्छ।’

सम्बन्धित खबरहरु