प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको छ। मंगलबार बिहान सवा ११ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको हो। बैठक अहिले पनि जारी छ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास बैरागीलगायत ६ जनाको उपस्थित छन्।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ। सो विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राति १२ बजेदेखि लागू हुने गरी दुबै संसदको अधिवेशन अन्त्य गरेकी थिइन्।
सरकारले बजेट प्रतिस्थापन अध्यादेश पनि ल्याउने तयारी गरिरहेको छ । साथै पुन:स्थापित संसदमा पेस नभएका कारण निष्क्रिय भएका अध्यादेशहरू पनि जारी गर्नेबारे मन्त्रिपरिषदले निर्णय लिने बताइएको छ । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग समसामयिक विषयमा परामर्श गरेका छन् ।