एमाले स्थायी कमिटी बैठक सकिएको छ।  बैठकले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको प्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ ।

एमाले स्थायी कमिटीको मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने सरकारले योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको विभाजनकारी योजनाको आफूहरुको गम्भीर विरोध रहेको बताए। उनले सरकारको योजनाको खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको बताए । एमालेले एकताको पक्षमा लाग्न पार्टी नेता कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने बताए ।

ज्ञवालीले प्रमुख प्रतिपक्षी दल एमालेभित्रका ‘अराजक र पदलोलुपलाई पार्टी विभाजनका लागि बैधानिकता तयार गर्ने षडयन्त्र’ सरकारले गरिरहेको आरोप लगाए।

उनले पार्टीलाई विभाजन गर्ने षडयन्त्रविरुद्ध दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गर्ने निर्णय बैठकले गरेको जानकारीसमेत दिए।

त्यस्तै बैठकले  अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र र सुरक्षित स्वदेश फिर्तीको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।

निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले उद्दारमा जुट्न सरकारले ढिलासुस्ती गरिरहेको भन्दै बैठकले त्यसप्रति खेद व्यक्त गरेको बताए ।

‘सरकार अफगानिस्तानमा रहेका नेपालीको सुरक्षित र शीघ्र देश फिर्ती गर्ने कार्यमा किंकत्र्यविमुढ र उदासिन देखिएको छ’ ज्ञवालीले भने ।

सार्कको अध्यक्ष राष्ट्र हुनुको नाताले नेपालले सम्बद्ध सबै पक्षलाई संयम राख्न आग्रह गर्नुपर्ने समेत एमालेले माग गरेको छ । ‘नेकपा एमाले सरकारको यस्तो निस्प्रभावी र उदासिन कार्यप्रति खेद प्रकट गर्छ’ ज्ञवालीले भने ।

सम्बन्धित खबरहरु