काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठकले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । १४ सांसदको पद खारेजीको माग गर्दै संसद सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो ।
उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।
एमाले सचेतक शान्ता चौधरीले उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन्।
कारवाहीमा पर्ने सांसद यसहरूमा माधव नेपाल,जीवनराम श्रेष्ठ,मुकुन्द न्यौपाने,रामकुमारी झाँक्री,कल्याणी खड्का,लक्ष्मीकुमारी चौधरी,निरादेवी जैरु,पुष्पाकुमारी कर्ण,सरला यादव,कलिला खातुन,विरोध खतिवडा,कृष्णलाल महर्जन, भवानी खापुङ,मेटमणी चौधरी रहेका छन्।
त्यतै बैठकमा बोल्दै अध्यक्ष ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि महँगो पर्ने चेतावनी दिएका छन् । ओलीले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने बताए हुन् ।
सत्तारुढ गठबन्धनले ऐतिहासिक भनेको सर्वोच्च अदालतको फैसलाको समेत अध्यादेशले अवहेलना गर्ने ओलीले बताए । एमालेले गलत मनाशाय र उद्देश्य राखेर ल्याइएको अध्यादेश तत्काल फिर्ता लिएर तीन दिनभित्र संसद अधिवेशन बोलाउन सरकारलाई चेतावनी दिएको एमाले नेता गोकुल बास्कोटाले बताए ।
बैठकले विभिन्न चारवटा प्रस्ताव पारित गरेको छ । अध्यादेश फिर्ता नभए देशभर ससक्त आन्दोलन गर्ने निर्णय गरेका छ । त्यसका लागि युवाहरुलाई तयार रहन निर्देशन दिने भएको छ ।