काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत भएको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्‍जालमार्फत् निहीत स्वार्थका लागि देशलाई अस्थिर तुल्याउने खेल भएको आरोप लगाएका छन्।

‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत निहLत स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो। विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन? २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?

त्यस्तै रावलले मंगलबार आफू पक्षका नेता तथा सांसद्हरुको छुट्टै छलफलमा गरेका थिए । उनले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कतातिर लाग्ने भन्ने विषयमा परामर्श गरेको एक नेताले जानकारी दिए।

रावलले मंगलबार बिहान मात्रै सामाजिक सञ्जालमा कविता पोस्ट गर्दै ‘आज हुने काम कुराले पश्चताप भोलि नहोस्’ भनेका थिए। ‘समाजलाई र आफ्नै लागि गलपासो साबित नहोस्’, उनको भनाइ थियो।

रावलले २०७८ भदौ १ गतेको मितिमा लेखेको कवितामा आज हुने काम कुराले भोलि पश्चाताप नहोस् भन्दै पार्टी विभाजन आफ्नै लागि गलापासो हुन सक्ने सन्देश दिएका छन् ।

पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल पछिल्लो समय नरम हुँदै आएका थिए। उनी अध्यक्ष ओली र वरिष्ट नेता माधवकुमार नेपालसँग समदूरी थिए। उनी ओलीतिरै खुल्ने आकलन गर्न थालिएको थियो।

रावल एमाले विभाजन हुन नदिन सक्रिय छन् । माधव नेपालले अलग पार्टी खोले आफू त्यसमा नरहने जानकारी समेत नेपाललाई गराइसकेको बताइन्छ । रावल माधव नेपालसहितको एमाले एकताका पक्षमा क्रियाशील छन् । उनले १० बुँदे सहमति नै एमाले एकताको आधार हो भन्दै आएका छन् ।

सम्बन्धित खबरहरु