काठमाडौँ – निर्वाचन आयोगको निर्णयपछि दलविहीन बनेका महन्थ ठाकुर राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको पर्खाइमा रहेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उत्साहित बनेका ठाकुर राष्ट्रपतिको निर्णयको पर्खाइमा रहेका हुन् ।
सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालयले जारी गर्ने वित्तिकै ठाकुरले जसपामा आफूतिर रहेका नेता तथा सांसदलाई समेटेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउने तयारी गरेका छन् । महन्थ ठाकुर पक्षका एक नेताले भने, सबै डकुमेन्ट तयारी अवस्थामा छ, अध्यादेश जारी हुनेबित्तिकै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने छौं ।’
पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक रहने छ भने चुनाव चिन्ह छाता रहने र एकल अध्यक्ष प्रणालीमा पार्टी दर्ता हुने ती नेताले बताए ।
नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव पछि अघि सारेका छन् । तर जसपा लोकतान्त्रिक पार्टी नै राख्ने निश्चित भएको ती नेताको भनाइ छ ।
ठाकुर पक्षमा रहेका राजेन्द्र महतोले दुई अध्यक्ष हुनुपर्ने आवाज समेत उठाएका छन् । महन्थ ठाकुर पक्षमा राजेन्द्र महतो कमजोर रहेकाले सो आवाज कमजोर बनेको नेताहरुको भनाइ छ ।