काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् । उनले १ बजेर १० मिनेटमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अन्नपूर्ण टाइम्सलाई बताए।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई समेत राहत मिलेको छ।  उनीहरु आजै नया दल दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा छन्।

पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले यस्तो अध्यादेश जारी भए प्रतिवाद गर्ने चेतावनी दिएको थियो। आफ्नो पार्टीमा विवाद भइरहेका बेला बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको अध्यक्ष केपी शर्मा ओली पक्षको बुझाइ छ।

सम्बन्धित खबरहरु