काठमाडौं – प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।
एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।
यसअघि एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार दिउँसो आयोग कार्यालयमा गएका थिए ।
आयुक्तहरुसँग छलफल गरेर करिब १५ मिनेटमै फर्किएका पाण्डेले सञ्चारकर्मीको जिज्ञासामा आज आफूहरुको तयारी नपुगेको जवाफ दिएका थिए ।
सरकारले कुनै पनि दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो । सरकारले एमाले र जनता समजवादी पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याएको राजनीतिक वृत्तमा टिप्पणी छ ।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।
सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई समेत राहत मिलेको छ।