काठमाडौँ पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एमाले)मा विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा माधव नेपाललाई बधाइ दिएका छन्।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ भन्दै माधव नेपालसहितका नेतालाई बधाइ दिएका हुन्।
उनले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताएका छन्।
‘ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयॉ घर बनाउने अभियानमा लाग्नुभएका माधव नेपाल र साथीहरुलाई बधाइ तथा शुभकामना,’ नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीहरू फुट्नु सामान्यतः राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न। अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस्!’
नेकपा एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।
नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् ।
पार्टीमा ३१ जना सांसद रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए ।
त्यस्तै उनले साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति रहेको जानकारी दिए । नेता नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा नेता झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् ।